सिंहको पहिरनमा गधा
एक ठाउँमा एउटा मूर्ख गधा थियो । उसले सधैँ नहुने नचाहिने कुरामात्र गर्ने गरेकोले अन्य जनावरहरूले उसलाई मन पराउँदैन थिए । उ एकलै जंगलको छेउतिर चर्थ्यो ।
एक दिन त्यस गधाले जंगलको नजिक सिकारीले छाडिराखेको सिंगो सिंहको छाला फेला परेछ । गधाले यसो बिचार गरेछ, म यो छालालाइ लगाएर अरू सब जनावरलाई तर्साउँछु । तिनिहरूले मलाइ मन पराउँदैनन्, आज तिनिहरूको सातो लिनु पर्यो ।
त्यस छालाको पहिरन लगाएर त्यस गधा अरू जनावरहरू खेलि रहेको ठाउँ तिर बिस्तारै बिस्तारै हिँडेछ । तुरून्तै नजीकै भएको स्यालले आफुहरू तिर सिंह आएको देखेर सबै साथीहरूलाइ चिच्याएर सिंह आउँदैछ भनेर सुनाएछ ।
सबै जनावरहरू सिंहको आक्रमणबाट बच्न भाग्न लागेछन् । आफूलाई देखेर सबै भागेको देखेर गधा साह्रै खुशी भएछ । उनीहरूलाई अलिक खेद्नु पर्यो भनेर उनीहरूको पछिपछि दोडेछ । जनावरहरू झनै जोड सँग भाग्न थालेछन् ।
गधालाई यो सब देखेर साह्रै हाँसो उठेछ र उसले हिँहा हिँहा भन्दै गधाको भाकामा हाँस्न थालेछ । स्यालले यो सुनेर टक्क अडिएर त्यस गधा तर्फ गएछ । अनि उसलाई थाहा भएछ कि यो त सिंह होइन गधा पो रैछ ।
स्यालले गधालाई भनेछ तैले आफ्नो थुतुनो मात्रै बन्ध गरेको भए तैंले मलाइ पनि झुक्काउने रैछस्, तेरै मुर्ख आवाजले मलाइ तँ गधानै होस् भन्ने चिनाइ दियो ।
एक मुर्खले भलै आफ्नो पहिरन र रूप परिवर्तन गरेर आफ्नो सान बढाउन खोज्ला तर उसको बोलीले उसको हैसियत देखाइ दिन्छ ।
हितोपदेश 13:3
आफ्ना ओठको रखवाली गर्नेले आफ्नै जीवन सुरक्षित पार्छ। तर असावधान बोलीले सर्वनाश ल्याउनेछ।याकुब 3:2
जुन मानिसले आफूले बोल्ने कुरामा भूल गर्दैन, त्यसले आफ्ना सारा शरीरमा पनि लगाम लगाउन सक्छ, र त्यो सिद्ध मानिस हुन्छ।