येशूले औषधिको बारेमा बताउनुभएको
काठमाडौँमा एक जना मानिस जन्डिसले अत्यन्तै विरामी भएर अन्तिम अवस्थामा अस्पतालमा पुग्यो । डाक्टरले उसलाई किन अन्तिम अवस्थामा आएको भनेर सोधपुछ गर्दा बिरामीको जवाफ थियो – “म येशूको विश्वासी हुँ, हाम्रो चर्चमा औषधि प्रयोग गर्नुभन्दा बढी प्रार्थनामा चङ्गाई छ भन्ने कुरा सिकाईन्छ ।” उसको कुरा सुनेर डाक्टर छक्क परे अनि रिसाए पनि । केही समयपछि त्यो विरामीको मृत्यु भयो । डाक्टरको प्रश्न थियो – यो कस्तो किसिमको धर्म हो ? जसले औषधिको बिरोध गर्छ......। के इसाई हुँदैमा औषधि प्रयोग गर्न हुँदैन र ?
पश्चिम नेपालको कुनै एक गाउँमा ४० दिनको उपवास २४ बस्ने अठोट गरेको एकजना विश्वासी एक हप्ता नबित्दै अचानक बिरामी भयो र उनलाई तुरुन्तै अस्पताल लगियो । बिरामीको जाँचपछि थाहा भयो कि उनको शरीरमा अन्न-पानी नपरेको कारणले जलवियोजन र कुपोषण भएको रहेछ । सो बुझेर डाक्टरले उनलाई केही खानेकुरा खानु भन्नुभयो, तर बिरामीको जवाफ थियो, “डाक्टर साब म विश्वासी हुँ, म उपवासमा छु, यो समयमा मैले केही पनि खान मिल्दैन... ।” डाक्टरले भन्यो “तपाईंको अवस्था निकै गम्भीर छ त्यसैले थोरै जुस वा पानी पिउनुहोस् ।” बिरामी विश्वासीले आफ्नो ४० दिनको उपवासमा केही पनि नखाने संकल्प गरेको देखेर डाक्टरले तुरुन्तै स्लाइन पानी चलाउनपर्ने सुझाव दिए । तर आफूलाई येशूको भक्त सम्झने विश्वासीको भनाई थियो- “स्लाईनलाउनु भनेको त खानेकुराखाए जस्तो हो र यसले मेरो उपवासलाई तोड्छ यसैले म, यो पनि चलाउदिनँ ।” ?यो कुराले डाक्टरलाई साह्रै नराम्रो लाग्यो । यो नकरात्मक खबर चारैतिर फैलियो र सबैले भन्न लागे प्रार्थना मात्र गन तर औषधि प्रयोग नगर्ने कस्तो मान्छे र कस्तो धर्म...
यो घटनामा पनि जलवियोजनको कारणले त्यो मानिस मर्यो । पूर्वी नेपालको तराईमा एउटा मानिसलाई सर्पले टोक्यो ।त्यो व्यक्ति इसाई भएको कारणले चर्चका मानिसहरूलाई बोलाएर वचन घोषणा गर्दै, शैतानलाई हकार्दै र मृत्युको आत्मालाई येशूको नाममा भागिजा भन्दै घन्टौ प्रार्थना गरे । बिरामीको शरीरभरी विष फैलिएको कारणले केही घण्टापछि उनको मृत्यु भयो । गाउँलेहरूले यो कुरा थाहा पाए पछि मण्डली परिवारमा ठूलो समस्या र विरोध आयो । मानिसहरूले यो नकरात्मक खबरलाई इसाईहरूको विरूद्धमा प्रचारप्रसार गरे । त्यसपछी इसाई धर्म ठीक छैन यो धर्मले औषधि, डाक्टर र अस्पतालको विरोध गर्छ भन्ने गलत खबर फैलियो ।
माथिका यी तीनैवटा प्रतिनिधि घटनाहरूबाट देख्न सकिन्छ कि कतिपय इसाईहरूमा औषधिबारे बाइबलले के कुरा बताएको छ भन्ने राम्रो ज्ञान छैन । धर्मशास्त्र बाइबलले भन्छ- "ज्ञानको कमीले गर्दा मेरो प्रजा नष्ट भएको छ (होशे ४:६) । वास्तबमा बाइबलले औषधिको बारेमा धेरै कुराहरू बताएको छ र हामी य यो पुस्तकमा पुरानो तथा नयाँ करारमा औषधिहरूको प्रयोग के कसरी र कहाँ भएको छ भन्ने विषयमा चर्चा गर्नेछौं ।
अब पाठको पहिलो पदको रुपमा हाम्रा उद्धारकर्ता प्रभू येशूले भन्नुभएको यो खण्डबाट सुरु गरौं ।
यो सुनेर उहाँले भन्नुभयो, “निरोगीहरुलाई वैधको आवश्यता हुँदैन, तर रोगीहरुलाई हुन्छ (मत्ती ८:१२) ।
यो खण्डमा प्रभु येशूले, वैद्य वा डाक्टरको आवश्यकतालाई स्पष्टसँग स्वीकार गर्नुभएको छ । रोगीलाई डाक्टर, औषधि र अस्पतालको आवश्यकता पर्छ भन्ने कुरा येशूले मानिसकोरूपमा राम्रोसँग बुझ्नुभएको थियो । डाक्टरले उनको पढाई तथा अनुभवबाट आर्जित ज्ञानद्वारा कुन बिरामीलाई कस्तो औषधि चलाउने, के खाने के नखाने, के गर्ने के नगर्ने भन्ने कुराहरू बताउनसक्छ । अति आवश्यक परेको खण्डमा बिरामीलाई स्वास्थ्य केन्द्रमा वा घरैमा राखी आवश्यकता अनुसार उपचार गर्ने कुरामा उनीहरू लागि पर्छन् । डाक्टरको राम्रो सल्लाह सुझाब अनुसार बिरामीले व्यवहार गर्दा बिरामी चाँडै स्वस्थ हुनसक्छ । तर निरोगी मानिसलाई डाक्टरको आवश्यकता पर्दैन र उसलाई औषधिको पनि आवश्यकता हुदैन । कुनै मानिस रोग नलागे पनि अस्पताल गयो, औषधि खायो र त्यहाँ सुति मात्रै रह्यो भने सद्धे मानिस पनि बिरामी हुनसक्छ । हाम्रा येशू प्रभुको भनाईलाई यसरी बुझौँ, रोगीलाई डाक्टर, औषधि र परेको खण्डमा अस्पताल पनि चाहिन्छ । येशूले भन्नुभएको कुरा हो, रोगीलाई वैद्यको (डाक्टर) आवश्यक पर्छ ।
येशूले स्वास्थ्यकर्मीलाई स्वीकार गरि प्रमाण खोज्नुभएको मत्ती ८: १-४, एकजना कुष्ठरोगी निको भएकोः उहाँ डाँडाबाट ओर्लनुभएपछि ठूलो भीड उहाँको पछि लाग्यो । एकजना कुष्ठरोगी उहाँकहाँ आयो, र उहाँको अघि घुँडा टेकि यसो भन्यो, "हे प्रभु तपाईंको इच्छाभए मलाई निको पार्न सक्नुहुन्छ ।” उहाँले आफ्नो हात पसारेर त्यसलाई छुनुभयो, र भन्नुभयो “म इच्छा गर्छु तिमी निको भइजाऊ।" तुरुन्तै त्यसको कुष्ठरोग निको भयो । तब येशूले त्यसलाई भन्नुभयो “कसैलाई नभन्नू तर जाऊ र आफूलाई पुजाहारीकहाँ देखाऊ, र मोशाले आज्ञा गरेको भेटि चढाऊ र मानिसहरुलाई प्रमाण होस् ।” यस घटनामा प्रभु येशूले समाजबाट त्यागिएको, ओडारमा गएर बस्नुपर्ने एकजना कुष्ठरोगीलाई आफ्नो अलौकिक शक्तिद्वारा बोलेर नै निको पार्नुभएको छ । प्रभु येशू जसलाई कुनैपनि कुराहरू गर्न असम्भव छैन, उहाँले निको पारिसकेपछि त्यस कुष्ठरोगीलाई पुजाहारीकहाँ गएर प्रमाणको लागि देखाउने आज्ञा दिनुभयो । वाइबलको पुरानो करारअनुसार कुष्ठरोगी निको भएपछि ऊ प्रमाणको लागि पुजारीकोमा जानैपर्छ । लेवी १४:१-३२ मा यी कुराहरू बताइएको छ । (येशूले विद्यमान राम्रा संस्कृतिहरूलाई स्वीकार गर्नुभएकोले हामीले पनि समाजमा विद्यमान राम्रा संस्कृतिहरूलाई स्वीकार गर्नुपर्छ भन्ने देखाउँछ ।) हाम्रो यो विषय " बाइबलमा औषधिहरू” सम्बन्धि भएको कारणले, हामी यो खण्डलाई त्यसैको नजरबाट हेर्नेछौं ।
पुरानो करारमा कुशल शिक्षक, पाष्टर तथा अगमवक्ता मोशासँग अलौकिक ज्ञान र शक्तिमात्र थिएन तर उनमा औषधिबारे पनि राम्रो ज्ञान थियो । ती सबै कुराहरूलाई प्रयोग गरेर उनले परमेश्वरको राज्यको वृद्धि र विकासमा ठूलो योगदान पुर्याएका छन् । हामीले यो पनि बुझ्नुपर्छ कि मोशा दरबारमा हुर्किएका र त्यहाँको उच्च शिक्षा प्राप्त गरेका एकजना व्यक्ति थिए । प्रेरित ७: १२ “मोशालाई मिश्रीहरुका सारा विद्यामा शिक्षा दिइन्थ्यो, र मोशा आफ्ना वचन र काममा शक्तिशाली भए ।“ संसारको कुनैपनि दरबारको विशेषता यो हो, कि दरबारियाहरूले आफ्ना बालबच्चाहरूलाई संसारका सबै प्रकारका ज्ञान तथा सीपहरू सिकाउछन । राजनीति, संगीत, धर्म, दर्शन, व्यापार, वाणिज्य, कला, साहित्य, लगायत औषधिको ज्ञान पनि तिनीहरूलाई सिकाइन्छ । मोशाले मिश्र देशको दरबारमा औषधिको ज्ञान सिकेको कारणले उनले पुजाहारीहरू र अगमवक्ताहरूलाई औषधिको बारेमा जानकारी दिएको कुरो प्राचीन औषधि पद्दतिका डाक्टरहरूले विश्वास गर्छन् । त्यस्तै स्वास्थ्य क्षेत्रमा रहेका इसाई वैज्ञानिकहरू र यसै क्षेत्रमा सम्बन्धित बाइबल विद्वानहरूले पनि यो कुरा मानिलिएका छन् । मोशा आफै पनि एक जना स्वास्थ्यविज्ञ थिए । यसैले परमेश्वरले उनलाई आफ्नो मानवीय ज्ञान पनि प्रयोग गर्ने अनुमती दिनुभयो । यूहन्ना १:१७ “किनभने व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्टद्वारा आए । मर्कुस १०:५ तर येशूले तिनीहरुलाई भन्नुभयो, “तिमीहरुका हृदयको कठोरताले गर्दा उनले तिमीहरुलाई यो आज्ञा लेखिदिए ।“ (ब्यवस्था ५:१, व्यवस्था २४:१-५, मत्ती २४:४४ पढ्नुहोस्) मानवीय ज्ञान र तौर तरिकाहरू जसले मानिसहरूको हीत र प्रगति गर्छ भने त्यो ज्ञानलाई प्रयोग गरीसेवा गर्न राम्रो कुरा हो ।
मोशाले पुजाहारीहरूलाई धार्मीक कुराहरू मात्र सिकाएका थिएनन् तर व्यवहारिक कुराहरू पनि सिकाएका थिए । कुष्ठरोगीहरू कहाँ बस्नुपर्ने, तिनीहरूले मानिसहरूसंग कस्तो व्यवहार गर्नुपर्ने, तिनीहरू निको भएको छ छैन भनेर बेला-बेलामा पुजाहारीकहाँ जचाउँनुपर्ने व्यवस्था मोशाले बनाइदिए । त्यो बेलाका पुजाहारीहरू धर्म गर्ने मात्र थिएनन् औषधि गर्ने डाक्टर जस्तै पनि थिए । यहि कारणले गर्दा पनि हामी अगुवाहरूमा आत्मिक साथै व्यवहारिक ज्ञान भएको राम्रो हुन्छ । हो सबैले सबै विषयमा जानकारी लिन सक्दैनन्, हरेकको रूची फरक फरक हुनसक्छ । यसैले नै तपाईलाई बाइबलमा औषधिको रहस्यबारे केहि जानकारी होस् भन्ने उद्देश्य लिएर यो पुस्तिका लेखिएको छ । येशूले कुष्ठरोगीलाई चङ्गाई गर्नुभएपछि पुजाहारीकहाँ गएर देखाऊ भन्ने कुराबाट हामीले चङ्गाईको निम्ति प्रार्थना गर्ने, प्रभुबाट आशिष पाउने र आवश्यक पर्दा विज्ञ डाक्टरलाई भेटघाट गरी सहायता लिन पनि सकिन्छ । याद गर्नुहोस्, येशूले पुजाहारीकहाँ नजा, त्यहाँ पटकै नजा, त्यो आवश्यक छैन भनेर भन्नुभएन । तर येशूले भन्नुभयो जाऊ र पुजाहारीकोमा देखाऊ । यसैले हामीले राम्रा र अधिकार पाएका डाक्टरहरूबाट सहायता लिनसक्छौं ।
यो लेख यस पुस्तको लेखक पा. शुकदेव गिरी ज्यू ले bishwasi.com लाई उपलब्ध गराउनु भएको हो। क्रमश बाँकि खण्डहरू पनि यस पेजमा प्रकाशित हुँदै जानेछन् । हामी यस उत्कृष्ठ सामाग्रीको लागि पा. शुकदेव गिरी प्रति धेरै धन्यवादी छौं ।
यहाँ लेखिएको धारणा तथा व्याख्या वारे अझ बढि जानकारी लिन वा छलफल गर्न लेखक संग सम्पर्क राख्न सक्नु हुन्छ।
लेखकको फेसबुक पेज : https://www.facebook.com/sukdev.giri.3