के चर्चमा धुप बाल्नु उचित होला?
नेपाली परमपरागत धर्मकर्ममा धुप अगरवत्ति आदिको धेरै प्रयोग हुन्छ । धुप नबालि इश्वर प्रसन्न नहुनुभए जस्तै यस्को अत्याधिक प्रयोग हुन्छ। त्यसो त बाइबलको पुरानो करारमा पनि धुपहरुको प्रयोग भएको पाउँछौं। कति अवस्थामा धुप बाल्नको निर्देशन परमेश्वर बाटै भएको देख्छौं। के वर्तमान ख्रीष्टका विश्वासीहरूले चर्चमा धुप वाल्नु उचित होला? यस प्रश्नको उत्तर बाइबलका पदहरू तथा नेपाली मण्डलीको परमपरा दुवैलाई ध्यानमा राखेर निकाल्नु उचित हुन्छ।
यहुदी परमपरामा धुपबाल्ने लामो समय देखिको अभ्यास छ। एक प्रकारले इसाई धर्म पनि येहुदी विश्वास र धर्ममा ( पुरानो करार) जग राखेर विकास भएको भन्ने कुरामा हामी दुई मत हुन सक्दैनौं। पुरानो करारको पालनाको आधारमा नभएपनि पुरानो करारमा दिएको अगमवाणी र परमेश्वरको योजनामा आधारीत भएको येशू ख्रीष्ट माथिको हाम्रो विश्वासमा हामीले अनन्त जीवन पाएका हौं। त्यसैले यहुदी परमपरालाई हामीले हुवहु पालना गर्नु नपरे पनि पूर्ण रुपमा इन्कार गर्न सक्दैनौं।
1. पुरानो करारमा धुप बाल्नु र मुर्ति पुजा
नेपाली समाजमा मुर्तिहरुको अघि धुप बालिने भएकोले हामी विश्वासी जसले मु्र्ति पुजाबाट अलग रहन चाहान्छौं हामीलाई यसको प्रयोग बारे संका उत्पन्न हुनु जायज हो। नेपाली परमपराअनुसार प्रयोग भएको धुपलाई मुर्ति पुजाबाट अलग गरेर बुझ्न कठिन हुन्छ । तर पुरानो करारमा उल्लेखित परमेश्वर जसलाई हामी इसाई विश्वासीले त्रिएक परमेश्वरको पिता भनेर जान्दछौं उहाँले नै धुप बाल्नको लागि आज्ञा दिनुभयो। यसरी दिइएको धुप उहाँलाई मन पर्ने कुरा पनि उल्लेख छ र परमेश्वरले आफुले चाहनु भएको धुप मानिसले आफ्नो व्यक्तिगत रूपमा प्रयोग नगर्नु पनि भन्नु भएको छ । धुपलाई परमेश्वरको हो विशेष रुपमा अलग गर्ने निर्देशन दिनु भएको छ ।
प्रस्थान 30:34-38
फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “सुगन्धित मसला— खोटो, सेखलेट र हिङजस्तै चोप— शुद्ध सेतो-धूपसमेत तौलमा बराबर लिएर त्यसको सुगन्धित, मिश्रित धूप अत्तर बनाउनेले जस्तै गरी बनाउनू। त्यो नून मिसिएको शुद्ध र पवित्र होस्। त्यसबाट केही कुटेर मसिनो पार्नू, र अलिकताचाहिँ भेट हुने पालमा तँसित भेट गर्ने स्थानमा गवाही-पाटीको सामुन्ने राख्नू। त्यो तिमीहरूका निम्ति अति पवित्र होस्। त्यसको मिसावटअनुसार त्यो धूप तिमीहरूले आफ्नै निम्ति नबनाउनू। त्यो तेरो नजरमा परमप्रभुको निम्ति पवित्र होस्। कसैले बास्ना मन पराएर त्यो जस्तै केही धूप बनायो भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कृत होस्।”
यस आधारमा पुरानो करारको समयमा हामीले परमेश्वरको लागि धुप बाल्नु मुर्ति पुजा नभएको मा हामी ढुक्क हुन सक्छौं । पछि गएर परमेश्वरको मन्दिरमा दैनिक रुपमा धुप बाल्ने चलन यहुदी परमपरामा स्थापित भयो ।
आत्मिकी रूपमा धुप बाल्नुलाई प्रार्थानाको चित्रणको रूपमा पनि लिइएको पाइन्छ । दाउदले भजन संग्रहको 141: 2 मा यसरी लेखेका छन "मेरो प्रार्थना तपाईंको सामुन्ने सुगन्धित धूपजस्तै होस्, र मैले आफ्ना हात उचाल्दा, त्यो बेलुकीको बलिजस्तै ठहरिओस्। " भजनसंग्रह 141:2 दाउदको भनाइमा धुप नै प्रार्थना पक्कै होइन । दाउदको भनाइमा जसरी परमेश्वरलाई मन्दिरमा बेदिको अघि बालिएको धुप मन पर्छ त्यसरी नै मेरो प्रार्थना तपाइमा स्विकार योग्यको भएको होस् भन्ने आसय हो। त्यसैले बाइबलको धुप परमेश्वरलाई मन परेपनि यो नेपालका मन्दिर हरुको सामु राखिएको जस्तो हाम्रो आराधना नै भने होइन। बाइबलमा धुपकोउल्लेख भएको विषयबाट धुप विशेष होइन तर परमेश्वर विशेष हुनुहुन्छ भनेर चिनाउँछ।
2. के इसाई विश्वासीले धुप बाल्नु हुन्छ?
पुरानो करारमा परमेश्वरलाई औधि मन परेको वस्तु अचानक आएर आज परमेश्वरले घृणा गर्नुहुन्छ भन्ने आधार छैन तर हामीले यो जानि राख्नु पर्दछ कि जसरी परमेश्वरले पुरानो करारमा धुप बालेर गरीने भक्ति मानिसबाट चाहनु भयो आज परमेश्वरले त्यस्तै भक्ति हामीबाट माग गर्नु भएको छैन। तर त्यसको विपरित हामीले यस्तो भौतिक माध्यमको विपरित आत्मा र सत्यतामा गरेको परमेश्वरले चाहनु हुन्छ । जस्तो येशूले सिकाउनु भएको छ, "परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ” (यूहन्ना 4:24)। धुप बाल्दैमा हाम्रो प्रार्थना आत्मा र सत्यतामा नहुने भने होइन तर प्रभु येशूको अनुग्रहमा पुरानो करारका व्यवस्था पुरा भइसकेको यर्थाथ हामीले जान्नु पर्दछ हिब्रू 9:11-14 )।
पुरानो करारको व्यवस्था पुरा भएकोले धुपबाल्ने सहित वलिदान चढाउने आदि कुराहरु अनावश्यक भैसकेका छन् । तर पनि केहि पुरानो करारको व्यवस्थालाई हामीले आज पनि मण्डलीमा आफ्नो आत्मिक अनुशासनको रूपमा पालना गर्ने गरेका छौं। जस्तो विश्रामको दिनको पालना नया करारमा छुट्टै आज्ञा नभए पनि हामी विना संकोच गर्दछौं । त्यस्तै दशांश भेटिको कुरा पनि नया करारमा उल्लेख नभए पनि हामी परमेश्वर प्रति धन्यवादि भएको आधारमा प्रभु प्रतिको सर्मपण प्रेम दर्शाउन चढाउने गर्दछौं। त्यसैले धुप बाल्नै नहुने भनेर हामीले उर्दि लगाउन नहुने भएपनि कसैले आफ्नो आत्मिक उपासनाको अभ्यासमा धुप बाल्छ भनें विरोध गर्नु जरूरी छैन । तर हामीले यो जान्नु पर्छ कि परमेश्वरले हामीले धुप बालेर र नबलेर आराधना गरेको भन्दा पनि हृदयलाई हेरेर स्विकार गर्नु हुन्छ ।
हामीले धुप बाल्छौं या बाल्दैनौं भन्दा पनि किन बाल्छौं भन्ने कुरामा परमेश्वरले सरोकार राख्नुहुन्छ । जसरी हामीले हप्तामा एक दिन काम नगर्नु नै ठूलो कुरो होइन तर परमेश्वरको नाम पवित्र राख्नलाई विश्राम गर्दछौं भने परमेश्वर खुशी हुनुहुन्छ र हामीलाई स्विकार गर्नुहुन्छ। त्यस्तै धुप परमपराको लागि नभई परमेश्वरलाई हृदय देखि मन पर्ने आराधना दिन र प्रार्थना गर्ने चाहना राखेर गरिन्छ भने प्रभु खुशीनै हुनुहोला ।
मानिसको हरेक बाटो आफूलाई ठीकै लाग्ला, तर हृदय जाँच्नुहुने परमप्रभु नै हुनुहुन्छ। जे ठीक र न्यायसङ्गत छ त्यही गर्नु परमप्रभुलाई बलिदान चढ़ाउनुभन्दा बढ़ी ग्रहणयोग्य हुन्छ। हितोपदेश 21:2-3
कसैको पनि हृदय जाच्ने काम हाम्रो नभई परमेश्वरको हो र धुप बालेर या नबालि कनै जसरी भएपनि हृदय जोच्नुहुने परमेश्वरलाई स्विकार योग्य हुने आराधना चढाउन पछि नहटौं।
नेपालमा परिस्थिती फरक छ कि?
विदेश का विभिन्न मण्डलीहरूमा जस्तै अर्थोडक्सहरुले धुपबाल्ने परमपरा अपनाएका छन् र उनिहरुले यसरी धुपबलेको विषयलाई मण्डलीले मुर्ति पुजाको संज्ञा दिएको पाइदैन। किनभने यसलाई पुरानोकरारको आत्मिककी परमपराको निरन्तरताको रूपमा बुझेका हुन्छन्। तर नेपाल भने फरक परिस्थिती छ जहाँ इसाई विश्वासमा आउनु भनेको पुरानो रितिरिवाजबाट अलग हुनुको रुपमा बुझ्दछन्। परमपरागत रितिरिवाजबाट अलग हुनु नै विश्वासी हुनु भनेको नहुने भएता पनि मण्डलीमा धुप बालेको देखेर विश्वसी पुरानो करारको आत्मिकी अभ्यास नभई नेपाली मन्दिरहरूमा गरिएको परम्पराको रुपमा बुझ्न सक्छन। हाम्रो आत्मामा परमेश्वर सँग स्वच्छ भएरै यस्तो प्रयासहरु गरिएको भएता पनि विश्वास, र परमपराको अभ्यासमा नयाँ र कम्जोर भएका हरुको सामु गलत गवाही दिन सक्छ। त्यसैले कुनै पनि आत्मिकी अभ्यास राम्रो उद्देश्य अनुसार सुरु भएपनि त्यसलाई बुझाउन सकिएन भने नकरात्मक प्रभाव पार्दछ । यसबारेमा बाइबलले यसरी लेख्दछ,
विश्वासमा कमजोर हुने मानिसलाई ग्रहण गर, तर उसको मतसम्बन्धी कुरामा वाद-विवाद गर्नलाई होइन। कसैले सबै थोक खान हुन्छ भनी विश्वास गर्छ, तर विश्वासमा कमजोर हुनेले चाहिँ सागसब्जी मात्र खान्छ। खानेले नखाने मानिसलाई तुच्छ नठानोस्, र नखानेले खानेलाई दोष नलगाओस्। किनभने परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ। अर्काको चाकरलाई इन्साफ गर्ने तिमी को हौ? त्यो त आफ्नै मालिकको सामु खड़ा हुन्छ वा पतित हुन्छ। त्यो खड़ा गराइनेछ, किनभने, त्यसका मालिकले त्यसलाई खड़ा गराउन सक्छ। कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा बढ़ी महत्त्वको मान्छ, अर्को मानिसले सबै दिनलाई समान ठान्छ। हरेक मानिस आफ्नै मनमा पूर्ण रूपले निश्चित हुनुपर्छ। जुन व्यक्तिले कुनै दिनलाई विशेष रूपले पालन गर्छ, त्यसले प्रभुको आदरको निम्ति पालन गर्छ। जुन व्यक्तिले खान्छ, त्यसले प्रभुको निम्ति खान्छ, किनकि त्यसले परमेश्वरलाई धन्यवाद दिन्छ। जुन व्यक्तिले खाँदैन, त्यसले परमेश्वरको आदरको निम्ति खाँदैन र परमेश्वरलाई धन्यवाद दिन्छ।
रोमी 14:1-6
यस पदमा धुपकै कुरा नगरे पनि विभिन आत्मिक अभ्यासको विषयलाई उठाएको कुरा हामीले स्विकार गर्न सकिन्छ । यस खण्ड अनुसार हामी सबैको मालिक परमेश्वर हुनुहुन्छ र हामी सबैले अपनाएका अभ्यास र परमपरालाई परमश्वरले न्याय गर्नु हुन्छ। मण्डलीमा धुप बाल्नु नबाल्नु पनि आफ्नो आफ्नो स्वतन्त्रता र आत्मिक अभ्यास भए पनि अरुको आत्मिक परिपक्कतालाई ध्यान मा राखेर अभ्यास गर्नु सबै भन्दा उत्कृष्ठ अभ्यास हुन आउँछ।
“सबै कुरा न्यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्। “सबै कुरा न्यायसङ्गत छन्,” तर सबै कुराले सुधार गर्दैनन्। कसैले पनि आफ्नो भलाइ नखोजोस्, तर आफ्नो छिमेकीको भलाइ खोजोस्। १ कोरिन्थी 10:23-24