ईसाई विश्वासका- आधारभूत सिद्धान्त भाग 3- येशू ख्रीष्ट || Essential Doctrines of Christian Belief-3: Jesus Christ

येशू ख्रीष्ट- पूर्ण मानवत्व तथा पूर्ण ईश्वरत्वको एकता



फिलिप्पी 2:5-11

'तिमीहरूमा यस्‍तो मन होस्, जो ख्रीष्‍ट येशूमा पनि थियो।
परमेश्‍वरको स्‍वरूपमा भएर पनि उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन।
तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्‍य भएर जन्‍मनुभयो।
स्‍वरूपमा मानिसजस्‍तै भएर आफैलाई होच्‍याउनुभयो,
र मृत्‍युसम्‍मै, अर्थात्‌ क्रूसको मृत्‍युसम्‍मै आज्ञाकारी रहनुभयो।
त्‍यसैकारण परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो, र उहाँलाई त्‍यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्‍दा उच्‍च छ,
कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ,
र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।'

माथिका यी पदहरू सम्भवतः नयाँ करार पालाको मण्डलीहरूमा गाइने एक आराधनाको भजन हो जसले येशूको मानव तथा ईश्वर दुवै व्यक्तित्वको सम्झना दिन्छ। यस पदले येशूको मानव अवतारमा आउँदा प्रदर्शन गर्नुभएको नम्रता तथा त्यागलाई प्रदर्शन गरेको छ। येशू यस संसारमा एक वालकको रूपमा प्रवेश गर्नुभयो जसलाई स्याहार सुसारको आवश्यकता थियो। अनि उहाँ बढ्नुभयो र एक दिन एक दुःखद मृत्यु भोग्नु भयो। यो सबै मानव अनुभव पछि उहाँ पुनरुत्थान तथा स्वर्गमा उचालिनुभएको घटना द्वारा उचालिनुभयो।

माथिको खण्डको ६ पदमा परमेश्वरको स्वरूपमा भएर पनि भन्ने वाक्यांशले येशू ख्रीष्टमा पहिल्यै देखि रहेको ईश्वरत्व जनाउ गर्दछ।  उहाँमा नै हामीले परमेश्वरको वास्तविक स्वरूप पाउँछौं भन्ने पनि बुझ्न सकिन्छ। उहाँ हाम्रो लागि परमेश्वरको प्रकाश हुनुहुन्छ, अर्थात् पुत्र परमेश्वर जो मानवको शरीरमा प्रकट हुनुभयो। उहाँ त्रीएक परमेश्वरको वरावरी सदस्य हुनुहुन्छ तर पनि मानिसलाई परमेश्वरको प्रेम प्रकट गर्न र मुक्ति को सेवा प्रदान गर्न मानव शरीरमा संसारमा आउनुभयो। हामी मानिस भएर गर्नुपर्ने तर गर्न नसकिने काम, हाम्रो पापको लेखा तिर्ने काम, उहाँले हाम्रो निम्ति पुरा गरि दिनुभयो। पापलाई पूर्णरूपमा मेटाउन चाहिने सबै भन्दा महान वलिदान उहाँ जो परमेश्वर मानव हुनुहुन्थ्यो उहाँबाट मात्र सम्भव छ, किनकी सबै मानिस आफैमा पापी भएको कारण पापको लेखा तिर्न योग्य रहँदैनन्।

 येशू ईश्वर तथा मानव दुवै हुनभएको कारण परमेश्वर र मानिसको बीचमा मध्यस्थता गर्ने महान पुजाहारी बन्नुभयो। उहाँले पिताको सामु हाम्रो तर्फबाट मध्यस्थता गर्नुहुन्छ, हाम्रो पापको निम्ति आफ्नो वलिदानले हामीलाई धर्मी घोषणा गर्नुहुन्छ। उहाँ पुर्ण मानव हुनुभएको कारण हाम्रो कुरा सबै बुझ्नुहुन्छ वा हामीले उहाँसँग सजिलै पुग्न सक्छौं र उहाँले मानव जीवनका सबै चुनौती भोगेर सो माथि विजयी हुनुभएको कारण हामीलाई हरेक कुरामा सहायता गर्न सक्ने हुनुहुन्छ।

येशूको नम्रता तथा आज्ञाकारीताको कारण उहाँ सबै माथि राजाको रूपमा उच्च पारिनुभएको छ। उहाँको क्रुसको मृत्यु तथा पुनरुत्थान एक प्रकारले उहाँको राजयाभिषेक हो। उहाँ परमेश्वर द्वारा उच्च पारिनुभएको छ र हाम्रो आराधनाको योग्य हुनुहुन्छ।

बाइबलले निम्न तरिकाले येशू ख्रीष्टको व्यक्तित्वलाई प्रकट गरेको छ।

सदा सर्वदा मानिस हुनुहुन्छ। उहाँ स्वर्गमा पुगे पछि पनि उहाँ पुत्र परमेश्वर नै हुनुहुन्छ। त्यसैले हामी र परमेश्वर बीचको मध्यस्थता सम्भव छ।

'किनकि परमेश्‍वर एउटै हुनुहुन्‍छ, परमेश्‍वर र मानिसहरूका बीचमा मध्‍यस्‍थ पनि एउटै हुनुहुन्‍छ— मानिस, ख्रीष्‍ट येशू। उहाँले सबैका छुटकाराका मोलको निम्‍ति आफैलाई सुम्‍पिदिनुभयो, जुन कुराको गवाही ठीक समयमा दिइयो। '१ तिमोथी 2:5-6

येशू वास्तवमा नै आफ्नो भौतिक शरीरमा हुने आउनुभएको थियो।

'अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो।' यूहन्‍ना 1:14

'यसैबाट तिमीहरू परमेश्‍वरका आत्‍मालाई चिन्‍छौ कि हरेक आत्‍मा जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्‍वीकार गर्छ, सो परमेश्‍वरबाट हो।' १ यूहन्‍ना 4:2

पुनरुत्थान पछि पनि येशूको शरीर वास्तविक थियो। जुन शरीरमा उहाँ मानवको पुत्रको रूपमा फेरी आउनुहुनेछ।

'जब तिनीहरू यस विषयमा अलमल्‍ल परिरहेका थिए, तब चहकिलो पोशाक पहिरिएका दुई पुरुषहरू तिनीहरूका छेवैमा खड़ा भए। मेरा हात र मेरा पाउ हेर, म नै हुँ, मलाई छोएर हेर। किनकि प्रेतको मासु र हाड हुँदैन, तर तिमीहरू देख्‍छौ, मेरा त छन्‌।”' लूका 24:4,39

'येशूले तिनलाई भन्‍नुभयो, “तपाईंले नै भनिहाल्‍नुभयो। तापनि म तपाईंहरूलाई भन्‍दछु, अब उप्रान्‍त तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्‌को दाहिने हातपट्टि बसेको, र आकाशको बादलमा आइरहेको देख्‍नुहुनेछ।”' मत्ती 26:64

 येशूले शारीरिक सिमितताहरू पनि देखाउनुभयो। जस्तो भोकाउनुभयो, तिर्खाउनुभयो, निदाउनु भयो, थाक्नुभयो आदि

'त्‍यहाँ याकूबको इनार थियो। येशू यात्राले थाक्‍नुभएको हुनाले त्‍यस इनारको छेउमा बसिरहनुभएको थियो। प्राय: मध्‍यान्‍ह भएको थियो। 'यूहन्‍ना 4:6

'बिहान सहरतिर फर्कनुहुँदा उहाँ भोकाउनुभयो।' मत्ती 21:18

'यसपछि येशूले सबै कुरा अब सिद्धिए भनी जानेर धर्मशास्‍त्र पूरो होस्‌ भनी भन्‍नुभयो, “मलाई तिर्खा लाग्‍यो।”' यूहन्‍ना 19:28

येशू शरीरमा परीक्षित पनि हुनुहुन्थ्यो

'किनकि हाम्रा प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्‍ने हुनुहुन्‍न। तर हामीजस्‍तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्‍थ्‍यो।हिब्रू 4:15

येशू सृष्टिकर्ता अनन्त देखि नै परमेश्वर हुनुहुन्थ्यो ।

'आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो। उहाँ आदिमा परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो। सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन। 'यूहन्‍ना 1:1-3

येशू ख्रष्टमा परमेश्वरको महिमा थियो र पिताले उहाँमा सबै अधिकार दिनुभएको थियो।

 'उहाँ अदृश्‍य परमेश्‍वरको प्रतिरूप, सारा सृष्‍टिका ज्‍येष्‍ठ हुनुहुन्‍छ, किनकि उहाँमा नै सबै थोक सृष्‍टि भएका थिए। स्‍वर्गमा र पृथ्‍वीमाथि भएका दृश्‍य र अदृश्‍य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्‍वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्‍ति सृजिएका हुन्‌। उहाँ नै सबै कुराभन्‍दा अगाडि हुनुहुन्‍छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्‌। 'कलस्सी 1:15-17

 स्वर्ग र पृथ्वीका सबै अधिकार येशूमा छन्।

'तब येशू तिनीहरूकहाँ आएर भन्‍नुभयो, “स्‍वर्ग र पृथ्‍वीमा समस्‍त अधिकार मलाई दिइएको छ।मत्ती 28:18

हाम्रो मुक्तिलाई पूर्णता दिन येशूको फेरी पुनरागमन हुनेछ।

'अनि स्‍वर्गबाट आउनुहुने उहाँका पुत्र जसलाई उहाँले मृतकबाट उठाउनुभयो, उहाँकै प्रतीक्षा तिमीहरू गर्दछौ, अर्थात्‌ येशूको, जसले आउन लागेको क्रोधबाट हामीलाई छुटकारा दिनुहुन्‍छ।१ थेसलोनिकी 1:10

' “हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ। म अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्‍त्‍य हुँ।'  प्रकाश 22:12-13

Read More