मण्डली- ईसाई विश्वासका आधारभूत सिद्धान्त भाग ६ || Essential Christian Doctrines -6 the Church

 मण्डली- ख्रीष्टको जगमा निर्माण हुँदै रहेको परमेश्वरको मन्दिर

एफिसी 2:19-22

'यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्‍तहरूसँग तिमीहरू सङ्गी-नागरिक र परमेश्वरको परिवारका सदस्‍यहरू भएका छौ। त्‍यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्‍ट येशू आफैचाहिँ मुख्‍य कुने-ढुङ्गो हुनुहुन्‍छ। उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्‍दिर हुनलाई बढ्‌दैजान्‍छ। अनि पवित्र आत्‍मामा परमेश्वरको वासस्‍थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्‍छौ।'

ईसाई विश्वास अनुसार हामी प्रत्येकले व्यक्ति गत रूपमा परमेश्वर माथि विश्वास गर्ने पर्ने भए पनि यो एउटा सामूहिक रूपमा अभ्यास गरिने आत्मिकता हो।  जसरी प्रभु येशूलाई आफ्नो मुक्ति दाता र प्रभु भनेर उहाँमा आफ्नो पाप क्षमा भएको विश्वास गर्छन्, उनीहरू एक आपसमा जोडिएर परमेश्वरको योजना अनुसारको जीवनमा आफूलाई अघि बढाउने तथा परमेश्वरले संसारमा राख्नुभएको योजना पुरा गर्न परमेश्वरसँग र आपसमा सहकार्य गर्छन्। यो समुदाय नै मण्डली अर्थात् चर्च हो।

ग्रीक भाषामा एक्लेसिया भनेको वोलाइएकाहरू अर्थात् परमेश्वरको बोलावट पाएकाहरू भनेर जान्न सकिन्छ। यस संसारमा मण्डलीहरू स्थान, अगुवा, सम्प्रदाय अनुसार चिनिने गर्दछ र यसैमा गर्भ गर्ने गरेको पनि पाइन्छ। तर मण्डलीको वास्तविक अस्तित्व संसारमा कुनै समुदायसँग नभइ परमेश्वरसँग जोडिएको हुनु पर्दछ। त्यसैले मण्डली भनेर चिन्दा ख्रीष्टको शरीरमा जोडिन आएका विश्वव्यापी विश्वासी समुदायलाई चिन्नु पर्दछ। त्यसैले मण्डली पहिचानलाई निश्चित समुदाय भित्रमात्र गर्नु वा गर्न चाहनु संसारको मालिक परमेश्वरको बृहत योजना चिन्न नसक्नू हो। वर्तमान समयका मण्डलीहरूमा विभिन्न व्यक्तिहरूको योगदान भए सबै एउटै जग अर्थात् ख्रीष्टमा जोडिएको हुन्छ।  

बाइबलको अर्थ स्थानीय मण्डलीलाई वास्तविक मण्डलीलाई नमान्नू भन्ने आशय होइन। बाइबलमा पनि स्थानीय मण्डलीहरूको पहिचान समेटिएको छ जस्तो कोरिन्थीको मण्डली, एफिसीको मण्डली आदि। तर यी मण्डलीहरू पनि ख्रीष्टको शरीरमा जोडिएर एक अर्काको परिपूरक मानिएको पाइन्छ। चर्च भनेर कुनै संस्थालाई मात्र सम्बोधन गर्नु भन्दा सामान्य रूपमा ख्रीष्टका विश्वासीहरूको समुदायको रूपमा मान्न सकिन्छ जो प्रार्थना, आराधना तथा वचनको सेवाकाइमा जोडिएका हुन्छन्। अदृश्य रूपमा हामी विश्वव्यापी विश्वासीहरू एक अर्कासँग जोडिएको वास्तविकतालाई स्विकार्दै दृश्य रूपमा स्थानीय मण्डली र समुदायमा जोडिएर आत्मिक अभ्यास गरेको हुनुपर्छ।

हाम्रो आत्मिक अभ्यासमा परमेश्वरबाट विभिन्न प्रकारका बोलावट तथा बरदान पाएकाहरूले एक अर्कालाई आत्मिक सहायता गरिरहेका हुन्छन्। ख्रीष्टको शरीरको विभिन्न अंगहरूको रूपमा मण्डलीमा सबै सदस्यहरू बराबरी हैसियतमा रहेका हुन्छन् र सम्पूर्ण मण्डलीको उन्नति र विकासको लागि अघि बढेका हुन्छन्। मण्डलीको समस्त अधिकार परमेश्वरमा रहेको हुन्छ किनभने यो प्रभु येशूको रगत द्वारा किनिएको उहाँको शरीर हो। तर यसको व्यवस्थापनमा परमेश्वरले मानिसहरूलाई एल्डर, अगम्वक्ता, पास्टर, डिकन आदि जिम्मेवारीहरू दिनुभएको छ। यी पदहरू अधिकार देखाउनको लागि भन्दा पनि परमेश्वर प्रति जबाफ देही हुने तरिकाले उहाँले दिनुभएको जिम्मेवारी हो।

बाइबलमा मण्डलीको बारेमा निम्न तरिकाले सिकाइएको पाइन्छ।

येशू ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ भने मण्डली उहाको शरीर हो। हरेकले येशू ख्रीष्टमा आफ्नो जिम्मेवारी पहिचान गरेर सो अनुसार सेवामा रहनु पर्दछ।

'किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्‍छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन, त्‍यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्‍टमा एउटै शरीर हौं, र प्रत्‍येक एक-अर्काका अङ्ग हौं। हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्‍वासको परिमाणअनुसार, सेवाको हो भने, सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा, अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित।' रोमी 12:4-8

'उहाँ शरीर, अर्थात्‌ मण्‍डलीका शिर हुनुहुन्‍छ, उहाँ नै सुरु हुनुहुन्‍छ, मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्‍येष्‍ठ हुनुहुन्‍छ, ताकि प्रत्‍येक कुरामाथि उहाँ सर्वोच्‍च होऊन्‌।' कलस्सी 1:18

मण्डली ख्रीष्टको जगमा परमेश्वरद्वारा विभिन्न प्रेरितिय सेवाकाई द्वारा निर्माण भइरहेको मन्दिर हो जहाँ परमेश्वरले बास गर्नुहुन्छ।

'यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्‍तहरूसँग तिमीहरू सङ्गी-नागरिक र परमेश्‍वरको परिवारका सदस्‍यहरू भएका छौ। त्‍यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्‍ट येशू आफैचाहिँ मुख्‍य कुने-ढुङ्गो हुनुहुन्‍छ। उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्‍दिर हुनलाई बढ्‌दैजान्‍छ। अनि पवित्र आत्‍मामा परमेश्‍वरको वासस्‍थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्‍छौ।' एफिसी 2:19-22

'किनकि हामी परमेश्‍वरका सहकर्मी हौं, तिमीहरूचाहिँ परमेश्‍वरका खेत हौ, परमेश्‍वरका भवन हौ। मलाई दिइएको परमेश्‍वरको अनुग्रहअनुसार, घर बनाउने निपुण कारीगरले जस्‍तै मैले जग बसालें, र अर्काले त्‍यसमाथि घर बनाउँदैजान्‍छ। त्‍यसमाथि बनाउँदैजाने हरेक मानिसले कसरी बनाउँदैछ, सो ध्‍यान देओस्‌। किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्‍ट हुनुहुन्‍छ, त्‍यसबाहेक कुनै मानिसले अर्को जग बसाल्‍न सक्‍दैन।' १ कोरिन्थी 3:9-11

मण्डली र यसमा जोडिएका हरेक सदस्यहरू परमेश्वरमा सिधै पहुँच पाएका उहाँका राजपुजाहारीगिरी हुन्। उनिहरू परमेश्वर द्वारा विशेष गरी छानिएका हरू हुन्। त्यसैले परमेश्वरले उनिहरूमा विशेष योजना राख्नुभएको छ।

'तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। एक पल्‍ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्‍वरका प्रजा भएका छौ। एक पल्‍ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ।' १ पत्रुस 2:9-10

'यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर। ' रोमी 12:1

मण्डली अन्त्यको समयमा ख्रीष्टसँग जोडिनको निम्ति तयार भइरहेको दुलही हो। आफ्नो दुलही भएको कारण मण्डलीलाई ख्रीष्टले अति नै प्रेम गर्नु हुन्छ भने उहाँको दुलही भएको हैसियतमा उहाँको महिमा हुने कार्यमा मण्डली लागि पर्नु उसको उत्तरदायित्व हुन्छ।

'अनि ती स्‍वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्‍त्रणा पाउनेहरू धन्‍यका हुन्‌।” तिनले फेरि मलाई भने, “परमेश्‍वरका सत्‍य वचनहरू यी नै हुन्‌।” अनि तिनलाई दण्‍डवत्‌ गर्न म तिनको पाउमा घोप्‍टो परें। तर तिनले मलाई भने, “तिमीले मलाई यसो गर्नुहुँदैन। म येशूको गवाही कायम राख्‍ने तिम्रा भाइहरूको र तिम्रो सङ्गी-दास मात्र हुँ। परमेश्‍वरलाई दण्‍डवत्‌ गर! किनकि येशूको गवाही अगमवाणीको आत्‍मा हो। ' प्रकाश 19:9-10

 

x

Read More