तपाइले परमेश्वरलाई कस्तो चित्रण गर्नु भएको छ? | KNOWING GOD |

तपाइले परमेश्वरलाई कस्तो चित्रण गर्नु भएको छ?

KNOWING GOD

डा. पवित्र मणी भण्डारी |  SEPTEMBER 5, 2023| 

मानिसले परमेश्वरलाई के भनेर र कुन हैसियतमा कसरी चिनेको छ भन्ने विषय उसको बारेमा सबै भन्दा महत्वपूर्ण हुन्छ। कुनै पनि मानिसले परमेश्वर प्रति राखेको धारणाले उसले जिउने जीवन शैलिको तय गरेको हुन्छ। त्यसैकारण हामीले परमेश्वरको बारेमा सहि धारणा बनाउनु अति महत्वपूर्ण हुन्छ। बाइबल धर्मशास्त्रको प्रयोगबाट परमेश्वरको बारमा सबै भन्दा असल तरिकाले ज्ञान हासिल गर्न सकिन्छ।  बाइबलले परमेश्वरको बारेमा निम्न तरिकाले दाबी गरेको पाउँछौं।

परमेश्वर एक हुनुहुन्छ।

संसारलाई र हामीलाई सृष्टि गर्ने, परमेश्वर एउटै मात्र हुनुहुन्छ। मानिसले यो सत्यतालाई नजानेर तथा नबुझेर धेरै इश्वरहरू छन् भन्ने भ्रममा परेका हुन सक्छन् तर बाइबलले परमेश्वर एउटै मात्र हुनुहुन्छ भनेर सिकाएको देखिन्छ।

'हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ।' व्यवस्था 6:4

बाइबलले भनेको परमेश्वर पिता, पुत्र र पवित्र आत्माको तिन व्यक्तित्वहरूमा प्रकट हुनुभएको छ। यसरी तिन व्यक्तित्वहरूमा देखिनुभएको परमेश्वर एकतामा रहनु भएको छ। बाइबलले सिकाएको परमेश्वरको यस अलौकिक गुण (तिन व्यक्तित्वहरूमा प्रकट हुनुभएको तर एकतामा हुनुहुने परमेश्वर)लाई त्रीएक परमेश्वर भनेर जान्दछौं।

'प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम र पवित्र आत्‍माको सङ्गति तिमीहरू सबैसँग रहून्‌।' २ कोरिन्थी 13:14

परमेश्वर अनन्त हुनुहुन्छ।

बाइबलले सिकाए अनुसार परमेश्वरको सुरूवात तथा अन्त्य छैन। उहाँ अनन्त देखि हुनुहुन्थ्यो र अनन्त सम्म हुनुहुन्छ। परमेश्वर सधैँ नै पूर्ण तथा अपरिवर्तनशिल हुनुहुन्छ। उहाँ नभएको ठाउँ तथा समय नै छैन। अनन्त परमेश्वरले विगत वर्तमान तथा भविष्य सबै एकै पटक देख्नुहुन्छ।

'पहाड़हरू उत्‍पन्‍न हुनुभन्‍दा अघि, अथवा तपाईंले पृथ्‍वी र संसार सृजनुभन्‍दा अघि, अनादिदेखि अनन्‍तसम्‍म तपाईं नै परमेश्‍वर हुनुहुन्‍छ। ' भजनसंग्रह 90:2

सबै ठाउँलाई सबै समय आफ्नो दृष्टिमा राख्नुहुन्छ। त्यसैकारण उहाँबाट कुनै पनि कुरा लुकेको हुँदैन। परमेश्वरको ज्ञान र शक्ति पनि अनन्तको छ र उहाँमा असम्भव केही कुरा छैन र परमेश्वरले नजानेको कुरा पनि केही छैन। परमेश्वरले आफ्नो अनन्तको अधिकारले समस्त पृथ्वीमा राज्य तथा व्यवस्था गर्नु हुन्छ।

'पृथ्‍वी र त्‍यसमा भएका जो-जति छन्‌ सबै परमप्रभुका हुन्‌, संसार र त्‍यसमा वास गर्नेहरू सबै उहाँकै हुन्‌।' भजनसंग्रह 24:1

 परमेश्वर प्रेम हुनुहुन्छ।

बाइबलले हामीलाई परिचय गराउने परमेश्वर आफ्नै शक्ति तथा अधिकारमा मात्र चिनिनुहुन्न तर उहाँले हामीसँग गर्ने उहाँको प्रेम, अनुग्रह, क्षमादान आदिबाट पनि चिनिनु हुन्छ।

'यसरी हामीप्रति भएको परमेश्‍वरको प्रेम हामी जान्‍दछौं र विश्‍वास गर्छौं। परमेश्‍वर प्रेम हुनुहुन्‍छ, र जो प्रेममा रहन्‍छ त्‍यो परमेश्‍वरमा रहन्‍छ, र परमेश्‍वर उसमा रहनुहुन्‍छ।' १ यूहन्‍ना 4:16

उहाँको अनन्तको गुण प्रेम हो र उहाँ अनन्त देखि असल परमेश्वर हुनुहुन्छ। परमेश्वरले मानिसलाई अति प्रेम गर्नु हुन्छ र मानिसको निम्ति सधैँ भलाइ नै चाहनु हुन्छ र यसैको योजना राख्नुहुन्छ। परमेश्वरको प्रेम यति महान तथा सत्य छ कि हामी आफै परमेश्वरको प्रेमलाई नबुझ्दै तथा नचिन्दै उहाँले मानिसलाई प्रेम गर्नुभयो भनि बाइबलले चिनाएको छ।

परमेश्वर पवित्र हुनुहुन्छ।

सर्वशक्तिमान, अनन्तको परमेश्वर जसले हामीलाई अनन्तको प्रेम गर्नुहुन्छ उहाँ आफैमा पवित्र, धर्मी तथा न्याय प्रेमी हुनुहुन्छ। परमेश्वर आफू पवित्र हुनुभएको कारण अपवित्र, अधर्मी, अन्याय र अत्याचार सहनु हुँदैन। आफ्नो अनन्त ज्ञान, शक्तिमा उहाँले आफू भन्दा विपरीत यस्ता कुराहरूको न्याय गर्नुहुन्छ। परमेश्वरले मानिसको बीचमा आफ्नो गुणहरू (पवित्रता, धार्मीकता, न्याय) आदि स्थापित गर्ने गरि काम गर्नुहुन्छ। 

'तिमीहरू मेरो निम्‍ति पवित्र होओ, किनभने म, परमप्रभु, पवित्र छु, र तिमीहरू मेरै हुनलाई मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेर छुट्ट्याएको हुँ।' लेवीहरू 20:26

 परमेश्वरलाई यो भन्दा पनि अन्य गुणहरूले चिन्न र चिनाउन सकिए पनि हामीले यहाँ माथि उल्लेख गरेका चार गुणहरूले समग्ररूपमा उहाँलाई चिनेर हाम्रो उहाँसँगको सम्बन्ध स्थापना गर्न सक्छौं। परमेश्वरको बारेमा हामीले जानेका यी वभिन्न गुणहरूले परमेश्वरमा हामीलाई ढुक्क हुन सिकाउँछ। उहाँ नै हाम्रो लागि सबै भन्दा उत्कृष्ट शरणस्थान हुनुहुन्छ। त्यसको साथै परमेश्वरले के कस्तो कुरा मन पराउनुहुन्छ र चाहनु हुन्छ भन्ने पनि जानेको हुँदा परमेश्वरलाई मन नपाराउने अर्थात् उहाँले न्याय गरि दण्ड दिनुहुने क्रियाकलापबाट आफैलाई अलग राख्न सक्छौं।

'मृत्‍युको अन्‍धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्‍छ। तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्‍त्‍वना दिन्‍छन्‌।' भजनसंग्रह 23:4

  

Read More