के ख्रीष्टमस गैर ईसाई चाड हो? ख्रीष्टियनले मान्नु हुन्छ कि
हुँदैन?
Can Christian Believers Celebrate Christmas?
मण्डलीको इतिहासमा चौथो शताब्दी देखी
नै ईसाई जगतले ख्रीष्मस मान्दै आएको भएपनि केही ईसाई समुदायहरूले ख्रीष्टका अनुयायीहरूले
ख्रीष्टमस मान्नु हुँदैन भनेर तर्क गरेको सुन्नमा आउँछ। अहिले संसारमा ख्रीष्टमस ईसाईहरूको
मात्र नभएर सबै समुदायको लागि छुट्टिको दिनको रूपमा परिणत भएको छ र यसलाई गैर ईसाईहरूले
ख्रीष्टसँग सरोकार नराखि मनाउने पनि गर्छन्। त्यसो भन्दै गर्दा हामीले ख्रीष्टमस
मनाउने कि नमनाउने? मनाए पनि नमनाए पनि त्यसको लागि हाम्रो बाइबलिय आधार के हो? यसले
लेखबाट मेरो आफ्नो बाइबलिय बुझाइ दिने प्रायस गर्नेछु। सबैको बुझाइ मेरै जस्तो
हुनु पर्छ भनेर दाबी गरेर अरू कसैको न्याय गर्ने उद्देश्य यसलेखको नभएको बताउन
चाहन्छु।
ख्रीष्टमस- गैर-ईसाई सुरूवात
वर्तमान मण्डलीमा ख्रीष्टमस
नितान्त मुक्तिदाता येशूको जन्मदिनको रूपमा मनाइने गरिन्छ। यस दिन इम्मानुएल
परमेश्वरले मानवीय शरीर धारणा गरेर पृथ्वीमा आउनू भइ मानिसको बीचमा बास गर्नुभएको एक
ऐतिहासिक तथ्यलाई सम्झना गरिन्छ। यस दिन विशेष गरी स्वर्गदूतले मरियम, योशेफ तथा
अन्य व्यक्तिहरूलाई येशू परमेश्वरको पुत्र मशिहको बारेमा दिनुभएको जानकारीलाई
सम्झन्छौं। कसरी योसेफ र मरियम गालिलबाट बेथलेहम पुगे र येशूको जन्म परमेश्वरले दिनुभएको अगमवाणि जस्तै बेथलेहममा भयो भन्ने
कुरा जान्दछौं। येशुको जन्मोत्सव कुन दिन मनाए भनेर बाइबलमा भनेको त छैन, तर
गोठालाहरूले स्वर्गदुतहरूको साथमा यसबारेमा खुशियालि मनाएका थिए भन्ने पनि सम्झाना
गर्दछौं। त्यस्तै पुर्वका ज्योतिषि(ज्ञानि) मानिसहरू पनि येशू जन्मिनुभएको ताराहरूलाई
अध्ययन गरेर थाहा पाए उहाँलाई खोज्दै
बेदलेहम आइपुगे अनि उहाँलाई उपहारहरू चढाएर एक प्रकारको ख्रीष्टमस नै मानएको घटनालाई
पनि हामी ख्रीष्टमसमा सम्झना गर्दछौं।
यसरी हाम्रो विश्वास र मान्ने विषय
बाइबलका घटनामा गाँसिएको भए पनि कुन दिन येशू जन्मिनु भएको हो भन्ने बारेमा
बाइबलले प्रस्ट पारेको छैन। धेरैले येशूको जन्म हुँदा गोठालाहरू राति बाहिर भएको घटनालाई
विचार गरेर पक्कै पनि डिसेम्वरको जाडो होइन होला भनेर तर्क गरेको पाउँछौं। कति बाइबलिय
विद्वानहरूले यस तर्कको विरोध गरेको पनि पाइन्छ। तर यसैको आधारमा यो दिन हो या होइन
भनेर प्रमाण जुटाउन सकिँदैन। तथ्य यो हो कि येशूको जन्म भएको मिति आधिकारिक रूपमा
बाइबलमा दिइएको छैन।
येशूको जन्म हुनु भन्दा धेरै पहिले
देखि नै यूरोपमा जाडोको समयमा अहिलो पात्रो अनुसार डिसेम्बर तिर वर्षकै लामो रात
हुने दिनलाई विशेष रूपमा सुर्यको निम्ति समर्पण गरेर मनाउने गरिन्थ्यो। रोममा
डिसेम्वर 25 तारिखको दिन मिर्था, अपराजित सुर्य देवता, को जन्मदिनको रूपमा मनाउने
गर्दथे। त्यस्तै डिसेम्वरमा अन्य पर्वहरू पनि रोमीहरूले मनाउने गर्थे। सुरूका तिन
शताब्दी सम्म मण्डलीले येशूको जन्म दिन मनाउने चलन थिएन। तर चौथो शताब्दीमा
मण्डलीले येशू ख्रीष्ट संसारमा आउनुभएको सत्यतालाई एक विशेष दिनमा पर्वको रूपमा
मनाइ स्मरण गर्ने निर्णय गर्यो। इ.सं. ३३६मा मण्डलीले येशूको मृत्यु र पुनरुत्थानको
साथै उहाँको शारीरिक जन्मलाई पनि सम्झाना स्वरूप निर्णय गरि पहिलो पटक ख्रीष्टमस
मनाइयो। पोप जुलियस-1ले डिसेम्वर 25 तारिख तोकेका हुन्। रोमी सुर्य देवताको जन्मदिनको पर्वको
वेला ईसाई विश्वासीहरूलाई सांसारिक रमझमबाट मण्डली तर्फ डोर्याउन यस दिनलाई
छानिएको हो भन्ने मानिन्छ।
यसरी रोमबाट सुरूभएको ख्रीष्टमसको
पर्व पाँचौ सताब्दिमा मिश्रका मण्डलीमा मनाउन थालियो भने छैटौ शताब्दीमा इङ्ल्याण्मा
पुग्यो। मध्येयूगमा आइपुग्दा यूरोमा डिसेम्वर २५ पूर्णरूपमा ईसाई चाढको दिनमा
परिवर्तन भइसकेको थियो र परमपरागत रोमि प्रचलन पुर्ण रूपमा हराइ सकेको थियो।
त्यसैले त्यस यता डिसेम्वर २५ नितान्त ईसाई पर्वको दिनको रूपमा मनाउन थालिएको छ।
ख्रीष्टमस- वर्तमान समयको सांसारिक पर्व
नेपालमा अझै पनि ख्रीष्टमसलाई
पुर्ण छुट्टिको दिनको रूपमा सरकारले तोकेको पाइँदैन। तर संसारका धेरै जसो देशहरूमा
यस दिनलाई बिदाको दिनको रूपमा लिइन्छ। हाम्रो छिमेकि मुलुक भारतमा समेट ख्रीष्टमस सार्वजनिक
बिदाको दिन हो। त्यसैले सांसारिक रूपमा डिसेम्वर २५ इसाइको मात्र दिनको रूपमा सीमित
छैन। यस दिन सबैले विदा पाउँछन् र सबै मानिसले आफ्नो आफ्नो तरिकाले बिदा मनाउने गर्छन्।
नेपालमा समेत ख्रीष्टमसमा विभिन्न पसल, होटेल तथा रेस्टुरान्टले ईसाई विश्वाससँग
कुनै सरोकार नगरी विभिन्न पार्टी आयोजना गर्ने गरेको पनि देखिन्छ।
ख्रीष्टमसको सुरूवाति उद्देश्य जुन
मानिसलाई सांसारिकताबाट आत्मिकतामा डोर्याउनु थियो यस भन्दा नितान्त फरकरूपमा
ख्रीष्टमसको प्रयोग भएको देखिन्छ। यो व्यापारीहरूलाई व्यापार बढाउने र
सांसारीकतामा रमाउने मानिसहरूलाई सांसारिक रमझम गर्ने बहानाको रूपमा परिणत भएको छ।
यस्तो देखावटी ख्रीष्टमस मण्डलीमा पनि देखिन्छ। ख्रीष्टमसको समयलाई मण्डलीको सबै भन्दा
महत्वपूर्ण कार्यक्रम मानेर यो समयमा सजावट तथा उत्सवमा धेरै नै मेहनत, समय तथा
पैसा मण्डलीले खर्च गरेको देखिन्छ।
ख्रीष्टमस- परमेश्वरले धर्ती अवतार लिनुभएको घटनाको स्मरणको दिन
जसै सम्पूर्ण ईसाई जगतले येशूको क्रुसमा
भएको मृत्यु तथा मृत्यु पछिको पुनरुत्थानलाई स्मरण गरेर आफ्नो विश्वासलाई अघि
बढाएको पाइन्छ। यसको निम्ति येशू ख्रीष्ट आफैले आज्ञा दिनुभएको पाउँछौं। येशूको यस
धर्तीमा आउनुभएको घटना पनि आफैमा परमेश्वरको अलौकिक घटना हो। वर्तमान समयमा
मानिसहरूले येशू वास्तविक व्यक्तित्व नभइ उहाँका चेलाहरूले खडा गरेको विश्वासको
पत्र हुनुहुन्छ भनेर येशूको यस धर्तीमा जिउनुभएको यथार्तलाई नकार्ने धारणा पनि
पालिराखेको अवस्थामा, मण्डलीले आफ्नो विश्वासीलाई ख्रीष्ट येशूको सांसारिक जीवन र सेवाकाई
एक वास्तविक घटना हो भने सिकाउनु पनि अति जरुरी देखिन्छ। यस कार्यको लागि ख्रीष्टमस,
येशूको जन्म भएको वास्तविक दिन नभए पनि उहाँको जन्मको स्मरण गर्ने दिनको रूपमा
मनाउनु अति आवश्यक देखिन्छ।
येशू यस संसारमा आउनु भनेको
परमेश्वर जो स्वर्गमा हुनुहुन्छ उहाँ धर्तीमा
आएर हामीसँग जोडिनु भएको हो। यो वास्तविकतालाई भुलेको कारण सुरुका मण्डलीमा धेरै झूटा
शिक्षाहरू पनि देखिएका थिए। उनीहरूलाई सङ्केत गर्दै प्रेरित यूहन्नाले आफ्नो पहिलो
पत्रमा यसरी लेखेका छन्,
'यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई
चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ,
सो परमेश्वरबाट हो। येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन,
तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो, जसको विषयमा
“त्यो
आउँछ” भन्ने तिमीहरूले
सुनेका छौं। अब त्यो यस संसारमा आइसकेको छ।' (१ यूहन्ना
4:2-3)
त्यसैले हामीले स्वर्गमा हुनुभएको
येशूको कुरा गर्दा उहाँले यस धर्तीमा आएर दिनुभएको शिक्षा, बलिदान र सेवाकाईलाई कहिल्यै
पनि कम महत्वको ठान्नु हुँदैन। यदि ख्रीष्टमसलाई यस प्रकारको महत्वपूर्ण शिक्षा
दिने भाँडोको रूपमा मण्डलीले अँगालेको अवस्थामा यो अति महत्वपूर्ण सेवाकाई हुन
आउँछ।
देखावटी रूपमा नै भए पनि नेपाल
जस्तो ईसाई विश्वासीहरू अल्पसङ्ख्यक रहेको देशमा विश्वासीले तथा मण्डलीले आफ्नो घर,
मण्डली आदिमा सजावट गरेर आफू ख्रीष्टको अनुयायी भएको गर्वका साथ समाजमा देखाउने
अवसरको रूपमा पनि यसलाई लीन सकिन्छ। जसरी पावलले कलस्सीका विश्वासीहरूलाई भनेका
छन्,
'कुरा वा काममा जे-जे गर्छौ,
सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशूको
नाउँमा गर' (कलस्सी 3:17)।
त्यसैले परमेश्वरको आगमनको भजन गाउँदै
हामीलाई बचाउन धर्तीको दुःख भोग्न आउनुभयो भनेर येशूको सम्झना गर्ने, परमेश्वरलाई
धन्यवाद दिने हो भने ख्रीष्टमस मनाएर ईसाईहरूले कुनै गल्ती गरेको छैनन्। तर
परमेश्वरको विश्वासको निम्ति एउटा मौकाको सदुपयोग भएको देखिन्छ।
ख्रीष्टमस- हरेकको आफ्नै हृदयको निश्चितता अनुसारको कदम
के ईसाई विश्वासीले ख्रीष्टमस
मान्नै पर्छ? अर्थात् के ईसाई विश्वासीले ख्रीष्टमस मान्नु हुन्छ? भनेर गरिने यी दुवै
प्रश्नहरू गलत हुन्। किनभने, बाइबलबाट र मण्डलीको इतिहासमा ख्रीष्टमसको सुरूवातको
उद्देश्यलाई हेर्दा यो विश्वासीले नमानि नहुने पर्व हो भनेर दाबि गर्नु आवश्यक
छैन। त्यस्तै यो मान्नै हुँदैन, मान्यो भने हामी परमेश्वरको विरोधी हुन्छौं भनेर
तर्क गर्नु पनि बाइबलले हामीलाई आफ्नो आत्मिक अभ्यासको सरोकारको विषयमा दिएको
स्वतन्त्रतालाई बुझ्न नसकेको संकुचित धारणा हो। यस दिन विशेष हो वा होइन भन्ने
विषयलाई पावलले यसरी नै कुनै दिन विशेषलाई लिएर व्यर्थको तर्क गर्ने विश्वासीलाई रोमीहरूलाई
लेखेको पत्रमा दिएको शिक्षा अनुसार बुझ्न सकिन्छ। जहाँ पावलले लेखेका छन्,
'कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा
बढ़ी महत्त्वको मान्छ, अर्को मानिसले सबै दिनलाई समान ठान्छ।
हरेक मानिस आफ्नै मनमा पूर्ण रूपले निश्चित हुनुपर्छ। जुन व्यक्तिले कुनै दिनलाई
विशेष रूपले पालन गर्छ, त्यसले प्रभुको आदरको निम्ति पालन गर्छ।
जुन व्यक्तिले खान्छ, त्यसले प्रभुको निम्ति खान्छ,
किनकी त्यसले परमेश्वरलाई धन्यवाद दिन्छ। जुन व्यक्तिले खाँदेन,
त्यसले परमेश्वरको आदरको निम्ति खाँदेन र परमेश्वरलाई धन्यवाद दिन्छ।
हामी कोही पनि आफ्नै निम्ति बाँच्दैनौं र कोही पनि आफ्नै निम्ति मर्दैनौं। यदि हामी
बाँच्छौं भने प्रभुकै निम्ति बाँच्छौं, र मर्छौं भने प्रभुकै
निम्ति मर्छौं। चाहे हामी बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं। यसैको निम्ति ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो,
कि उहाँ मरेकाहरू र जीवितहरू दुवैका प्रभु होऊन्।' (रोमी 14:5-9)
पावलको शब्दहरूलाई केलाउँदा वर्तमान
समयमा नेपाली मण्डलीमा देखिएको जस्तै दिन विशेषलाई लिएर तर्क विर्तक गर्नेहरू भएको
थाहा हुन्छ र तिनिहरूलाई पावलले दिएको उत्तर नै आज हामी नेपाली विश्वासीहरूको लागि
हो भनि मानेर यस विषयलाई बुझ्नु आवश्यक छ। पावलले ख्रीष्टमसलाई नै विषय नबनाएको भए
पनि विशेष दिन मनाउने कुरालाई सम्बोधन गरेका छन्। त्यसको निम्ति उनको उत्तर यही हो
कि यसको विषयमा अरूले के भन्छ भन्नु भन्दा आफ्नो मनमा निश्चिन्त भएर उभिनु जरुरी छ।
यस पदलाई हेर्दा कसैले पनि तैंले ख्रीष्टमस मनाएर गलत गरिस् भन्न मिल्दैन त्यस्तै कसैलाई
ख्रीष्टमस नमनाएकोमा केही भन्नु जरुरी छ किन भने हरेकले मानेर होस या नमानेर
परमेश्वरको आदरको खोजी गरेको छ भने परमेश्वरले उसलाई त्यसै अनुसार न्याय गर्नु
हुन्छ। यदि कसैले ख्रीष्टमस मनाउँछ भने आफ्नो
आनन्द र खुशी भन्दा परमेश्वर र उहाँको राज्यको निम्ति गरेको होस। यदि कसैले मनाउँदैन
भने पनि ख्रीष्टमस नमनाउनू नै कुनै ठूलो कार्य होइन तर उसले पनि कुनै अर्को तरिकाद्वारा
परमेश्वरको महिमा गरेको होस्। सबैले कुनै कुरा पनि लुकाउन नसकिने परमेश्वरको सामु
लेखा दिनुपर्ने हिसाबले चलेका हौं।