बाइबलमा आधारित नैतिक शिक्षा: एक परिचय
नैतिक शिक्षा हाम्रो जीवन र समाजमा कसरी व्यवहार गर्नुपर्ने र
त्यसको स्थापना कसरी हुनुपर्ने भन्ने कुरासँग सम्बन्धित छ। त्यसैले, यो बाइबल धर्मशास्त्रले दिएको एक प्रमुख शिक्षा हो। उत्पत्ति देखि लिएर
प्रकाशको पुस्तकसम्म, हामी नैतिक शिक्षाका सिद्धान्तहरू,
आज्ञाहरू, चेतावनीहरू, निर्देशनहरू
र परामर्शहरू भेट्छौँ, जुन हाम्रो जीवनलाई सहि, उत्तम र परमेश्वरलाई महिमा दिने बाटोतर्फ डोर्याउनका लागि दिइएका हुन्।
प्रेरित पावलले भन्छन् कि शास्त्रहरू केवल उद्धारको मार्ग देखाउन
मात्र होइन, धर्ममा प्रशिक्षण दिन र "हरेक असल
काम" को लागि तयार पार्नका लागि दिइएका हुन् (२ तिमो. ३:१४–१७)।
परमेश्वरका वचनद्वारा परमेश्वरका प्रजाहरूको रूपमा आशीषित हुन,
हामीले परमेश्वरको शिक्षालाई पूर्ण आत्मसमर्पण र बुद्धिमत्तासाथ
ग्रहण गर्नुपर्छ। ख्रीष्टमा अनुग्रह प्राप्त गरेका हामीहरूका लागि, उहाँको बोलावटअनुसार "जीवन यापन गर्नु" नै ठूलो आनन्द हो (एफि.
४:१)।
यस लेखमा बाइबलबाट आधारित इसाई नैतिक शिक्षाको महत्त्व, उद्देश्य, आधार र केही विशेष विशेषताहरूलाई प्रकाशमा
ल्याई, पाठकहरूलाई नैतिक शुद्धतामा उत्प्रेरित गर्ने प्रयास
गरिएको छ।
बाइबलीय नैतिक शिक्षाको महत्त्व
सृष्टिको आरम्भदेखि नै,
परमेश्वरले आफ्ना कार्यहरूलाई "राम्रो" भनी घोषणा गर्दा नै
उहाँले नैतिक शिक्षाको आधार स्थापना गर्नुभएको थियो (उत्प. १)। त्यसपछि, उहाँले आदम र हब्बालाई नैतिक उत्तरदायित्व दिनुभयो (उत्प. २:१९) र सोही आधारमा
जीवनको मापदण्ड पनि तोकिदिनुभयो (उत्प. २:१५–१७)। इस्राएललाई दासत्वबाट मुक्त गरी आफ्नो
विशेष सम्पत्तिका रूपमा छान्नुभएपछि (प्रस्. १९:१–६), परमेश्वरले
उनीहरूसँगको सम्बन्धलाई एक नैतिक व्यवस्था दिई सुरु गर्नुभयो (प्रस्. २०:१–१७)।
यस प्रारम्भिक नैतिक आधारलाई बाइबलका पहिलो
पाँच पुस्तकहरू — उत्पत्ति, प्रस्थान, लेवी, गन्ती, र व्यवस्था विवरण
— मा विस्तार गरिएको छ।
शताब्दीयौँ पछि,
जब येशू ख्रीष्ट मानिसको उद्धार लिएर आउनुभयो, उहाँले आफ्ना चेलाहरूलाई मार्गदर्शन गर्न एक नैतिक घोषणापत्र (मत्ती ५–७) प्रस्तुत
गर्दै आफ्नो सेवकाइको थालनी गर्नुभयो। डाँडाको उपदेशले पुरानो करारको नैतिक शिक्षालाई
गहिराइका साथ पुनः व्याख्या गर्दै नयाँ स्तरमा पुर्याएको देखिन्छ। येशूको नैतिक शिक्षाको
केन्द्रमा परमेश्वर र छिमेकीप्रति प्रेम गर्ने आह्वान रहेको छ (मर्कुस १२:२८–३१),
र यही आह्वानले नयाँ करारको नैतिक शिक्षाको सारलाई प्रतिनिधित्व गर्दछ
(१ कोरिन्थी १३:१–३; याकूब २:८; १ पत्रुस
४:७–८; १ योहान ४:८)।
उद्धारको अन्तिम चरण — प्रभुको दोस्रो आगमन
र न्यायको दिन — मा पुग्दा, नयाँ आकाश र नयाँ पृथ्वीको
स्थापनाको उल्लेख गरिन्छ (प्रका. २१–२२)। यस अन्तिम अवस्थाले नै बाइबलीय नैतिकताको
पूर्णताको अभिव्यक्ति प्रस्तुत गर्छ: सत्यको विजय (१ कोरिन्थी १५:२७; प्रका. २१:१–८), असत्य, दुष्टता
र पीडाको पराजय (प्रका. २०:७–१०; २१:४), र परमेश्वरको उपस्थितिमा मानवताको पुनःस्थापन (प्रका. २१:३, २२–२७)।
बाइबलमा प्रस्तुत नैतिक शिक्षाको समग्र अवलोकन
गर्दा देखिन्छ कि परमेश्वरले मानव जीवनमा नैतिकतालाई अत्यन्त उच्च स्थान दिनुभएको छ।
उदाहरणका लागि, पुरानो करारका अगमवक्ताहरूले नैतिकता बिना
गरिने आराधनालाई व्यर्थ घोषणा गरेका छन् (यशैया १:१–१०; ५८:५–१०;
आमोस ५:२१–२६)। त्यसैगरी, बाइबलले असललाई खराब
र खराबलाई असल भन्नेहरूलाई दोषी ठहर गरेको छ (यशैया ५:२०), र
साँचो विश्वासले असल नैतिक व्यवहारमा प्रकट हुनुपर्ने शिक्षा पनि दिएको छ (याकूब २:१४–२६)।
यसैले स्पष्ट हुन्छ कि परमेश्वरका निम्ति हाम्रो
साँचो विश्वास सही नैतिक जीवनमार्फत प्रकट हुनु अत्यावश्यक छ।
बाइबलको नैतिक शिक्षाको उद्देश्य
धर्मशास्त्रले केवल नैतिक शिक्षाको महत्त्व
मात्र होइन, यसको व्यवहारिक पक्षलाई पनि विशेष जोड दिएको
छ। अघिल्लो खण्डमा हामीले देख्यौं कि नैतिक जीवनले हाम्रो आराधनालाई सत्य प्रमाणित
गर्दछ। यस सन्दर्भमा, तीन अन्य महत्वपूर्ण पक्षहरू पनि उल्लेखनीय
छन्।
पहिलो — ख्रीष्टियन पहिचानको पुष्टि
येशूको शिक्षाअनुसार,
जब हाम्रो जीवन प्रेमको नैतिक शिक्षाबाट प्रकाशित हुन्छ, तब हामी संसारमा उहाँका (येशूका) अनुयायी हौं भन्ने गवाही दिन्छौं (यूह. १३:३४–३५)
र हामी परमेश्वरका सन्तान हौं भन्ने हाम्रो दाबीलाई बलियो बनाउँछौं (मत्ती ५:४४–४५)।
दोस्रो — परमेश्वरलाई महिमा दिनु
येशूले सिकाउनुभएको छ कि जब हाम्रो ज्योति मानिसहरूका
अगाडि चम्किन्छ, उनीहरूले हाम्रो असल कार्यहरू देखेर स्वर्गमा
रहनु भएका हाम्रा पितालाई महिमा दिनेछन् (मत्ती ५:१६)। नैतिक शुद्धताले परमेश्वरको
आदर र सम्मान अभिव्यक्त गर्दछ।
तेस्रो — ख्रीष्टियन गवाही र मिशनको माध्यम
बाइबलमा देखाइएको छ कि नैतिकता बिना परमेश्वरको
काम सम्भव छैन। उदाहरणका लागि, उत्पत्ति १२:३ मा परमेश्वरले
अब्राहमलाई सबै जातिहरूको निम्ति आशीष बनाउनु भयो। पछि, उत्पत्ति
१८:१९ मा भनिएको छ कि अब्राहमको वंशले "परमप्रभुको मार्गमा धर्म र न्याय गर्नु"
जरुरी छ, ताकि प्रतिज्ञा पूर्ण होस्।
त्यस्तै, भजन
७२ मा भजन लेखकले प्रार्थना गर्छन् कि इस्राएलको राजा आफ्नो नैतिक जिम्मेवारी पूरा
गरोस्, जसबाट राष्ट्र समृद्ध होस् र आफ्नो मिशनरी बोलावट सफलतापूर्वक
पुरा गरोस् (भजन ७२:१–१७)।
पत्रुस र पावलले पनि आफ्ना पत्रहरूमा ख्रीष्टियनहरूको
नैतिक जीवनले समाजमा सकारात्मक प्रभाव पार्ने कुरालाई जोड दिएका छन् (फिलिप्पी २:१४–१६;
१ पत्रु. २:११–१२)।
बाइबलको नैतिक शिक्षाको आधार
ख्रीष्टियनहरूका लागि,
बाइबलको नैतिक शिक्षाको आधार स्वयं परमेश्वर हुनुहुन्छ। त्यसैले विश्वासीहरूका
लागि बाइबलको नैतिक शिक्षा अत्यन्त महत्वपूर्ण छ। परमेश्वर नै नैतिक शिक्षाका लेखक
हुनुहुन्छ—उहाँ सृष्टिकर्ता हुनुहुन्छ, नैतिक रूपमा व्यवस्थित
ब्रह्माण्डका निर्माता हुनुहुन्छ, र पूर्ण रूपमा सिद्ध अर्थात्
नैतिकवान हुनुहुन्छ (उत्प. २:१७)। परमेश्वरले आफ्नो सृष्टिलाई आफ्ना नैतिक मापदण्डहरू
दिएका छन् र सृष्टिलाई ती मापदण्डअनुसार उत्तरदायी हुन सृजना गर्नुभएको छ (उत्प. ३:१७;
भजन ३३:१३–१५)। त्यसैले, बाइबलको नैतिक शिक्षा
मानिसको आविष्कार होइन, बरु यो हामीप्रति परमेश्वरको योजना हो।
बाइबलले नैतिक शिक्षालाई परमेश्वरबाट आएको मात्र
बताउँदैन,
यसका व्यवस्थापन र कार्यान्वयन पनि परमेश्वरले स्वयम् गर्नुहुन्छ भनेर
देखाउँछ। यसको सबैभन्दा ठूलो प्रमाण येशू ख्रीष्टमा सम्पन्न भएको उद्धारको कार्य हो।
परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सिर्जना गर्नुभयो (उत्प. १:२७), तर मानिस पतनमा परेर परमेश्वरको चाहनाअनुसारको नैतिक स्तरबाट तल झर्यो (उत्प.
३:८)। तथापि, अनुग्रहपूर्ण परमेश्वरले मानिसलाई नैतिक पतनबाट
छुटकारा दिन उद्धारको योजना दिनुभयो (उत्प. ३:१५; रोम. ३:२२–२५)।
यही उद्धारको कार्य नै बाइबलमा प्रस्तुत मुख्य नैतिक आधारहरूको जग हो।
उदाहरणका लागि,
बाइबलले परमेश्वरले चाहनुभएको मानवीय जीवनको पवित्रतालाई जोड दिएको छ
(उत्प. ९:८–१७), सबै मानिस परमेश्वर सामु बराबर छन् भन्ने सत्यता
प्रतिपादन गरेको छ (अय्यूब ३१:१५; प्रेरित १७:२५–२६),
र प्रत्येक मानिस परमेश्वरका दृष्टिमा मूल्यवान् छन् भन्ने शिक्षा दिएको
छ। साथै, यौनिक शुद्धतामा बाइबलले दिएको जोड हाम्रो मुक्ति प्राप्त
जीवनसँग जोडिएको छ; किनभने हामी अब आफ्ना होइनौं, तर परमेश्वरका हौं, र उहाँको आत्मा हामीभित्र वास गर्नुहुन्छ
(१ कोरि. ६:१८–२०)।
बाइबलको नैतिक शिक्षाका विशेषताहरू
१. करारमा आधारित र समाजका लागि उपयुक्त
बाइबलको नैतिक शिक्षा परमेश्वरको जनहरूको व्यक्तिगत जीवन र सामुदायिक जीवन दुवैका लागि हो। यद्यपि सबै मानिस परमेश्वरप्रति नैतिक रूपमा उत्तरदायी छन्, शास्त्र अनुसार वर्णन गरिएको नैतिक जीवन विशेषगरी परमेश्वरसँग करारमा रहेका मानिसहरूका लागि अनिवार्यजस्तै छ। उदाहरणका लागि, डाँडाको उपदेश (मत्ती ५:१–२) संसारका अन्य मानिसहरूले पनि अनुसरण गर्दा लाभदायक हुन्छ, तर ख्रीष्टका अनुयायीहरूले भने यो आफ्नो जीवनको लक्ष मानी पालना गर्नुपर्नेछ। नयाँ करारमा प्रेमको नैतिकताले पनि विश्वासीहरूकै काँधमा यसको पूरा जिम्मेवारी दिएको देखिन्छ (यूह. १३:३४–३५; १ पत्रु. ४:८; हिब्रु. १३:१)।
२. अनुग्रह-प्रेरित नैतिक शिक्षा
"हामी प्रेम गर्छौं,
किनभने उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो" (१ यूह. ४:१९)—यस
पदले बाइबलको नैतिक शिक्षाको मूल प्रवृत्ति देखाउँछ। ख्रीष्टियन नैतिकता हाम्रो आफ्नै
प्रयास वा विचारमा होइन, तर परमेश्वरले येशू ख्रीष्टद्वारा पूरा
गर्नुभएको कार्यमा आधारित हुन्छ। परमेश्वरले हामीलाई आफ्ना सन्तानको रूपमा स्वीकार
गर्नुभएकोले हामी उहाँको तरीकाको नैतिक जीवन बाँच्न बोलाइएका हौं। हामी नैतिक जीवन
बाँच्नाले होइन, तर अनुग्रहद्वारा हामी स्वीकार गरिएको हौं। सुसमाचारबाट
प्राप्त नयाँ जीवन नै धार्मिकताको आधार हो (१ कोरि. ६:९–११; रोम.
१:१६–१७), र यो जीवन पवित्र आत्माको निरन्तर कार्यद्वारा सम्भव
हुन्छ (रोम. ५:५; २ कोरि. ५:१४; गल. २:१४;
३:३)।
३. रूपान्तरणकारी नैतिक शिक्षा
बाइबलको नैतिकता केवल बाह्य व्यवहारलाई सुधार
गर्ने प्रयास मात्र होइन, तर मानिसको हृदयमा गहिरो परिवर्तन
ल्याउने कार्य हो। यो व्यवस्था हृदयमा लेखिएको छ (यिर्म. ३१:३१–३३) र पवित्र आत्माको
प्रेरणाबाट उत्पन्न हुन्छ (रोम. ५:५; गल. ५:२२–२५)। बाइबलले सतही
आचरणभन्दा गहिरो, हृदयबाट उत्पन्न आचरणमा जोड दिन्छ (मत्ती ५:२७–२८;
१५:१८–२०; २ कोरि. ३:६)।
४. सांस्कृतिक प्रवाहभन्दा भिन्न
बाइबलको नैतिक शिक्षा सामान्य मानवीय संस्कृतिभन्दा भिन्न हुन्छ। संसारको संस्कृति प्रायः मानिसको पापमय प्रवृत्तिमा आधारित हुन्छ, तर परमेश्वरले आफ्ना मानिसहरूलाई नयाँ पहिचानसहित जीवन बिताउन बोलाउनुहुन्छ (प्रस्. १९:५; १ पत्रु. २:९–१२)। बाइबलले संस्कृति पूर्ण रूपमा इन्कार गरेको होइन, तर परमेश्वरको राज्यको प्रकाशमा मूल्याङ्कन र सुधार गरेको हो (रोम. १२:१–२)। येशूले शत्रुलाई प्रेम गर्ने र बदला नलिने जस्ता शिक्षाहरूले (मत्ती ५:३८–४४) सामान्य सांस्कृतिक व्यवहारभन्दा भिन्न तरिकाको नैतिकता सिकाउनुभएको छ। पावलले पनि यौनिक शुद्धता (१ कोरि. ६:१२–२०; कलो. ३:५–६) र मानव समानता (गल. ३:२८–२९; कलो. ३:११)मा यही सिद्धान्त अघि सारेका छन्।
५. समन्वयात्मक (holistic)
नैतिक शिक्षा
बाइबलको नैतिक शिक्षा मानिसको केवल धार्मिक
पक्षमा सीमित छैन; यसले विश्वास र आचरण (रोम.
१२:१; एफे. ४:१७–२४), व्यक्तिगत व्यवहार
र सामाजिक जिम्मेवारी (याकूब १:२७), तथा व्यक्तिगत धर्मिता र
सामाजिक न्याय (यिर्म. ७:१–११; मीका ६:६–८) समेट्छ। नयाँ करारमा
विश्वासीहरूलाई नयाँ पहिचान दिइएको छ (१ पत्रु. २:९–१०) र जीवनका सबै पक्षहरू—आर्थिक,
सामाजिक, पारिवारिक र व्यक्तिगत—मा परिवर्तनको
आह्वान गरिएको छ।
६. भविष्यवादी (Eschatological)
नैतिक शिक्षा
बाइबलको नैतिकता अतीतमा येशू ख्रीष्टमा परमेश्वरले
पूरा गर्नुभएको कार्य र भविष्यमा उहाँले गर्नुहुने प्रतिज्ञाहरूमा आधारित हुन्छ। येशूमा
नयाँ युग आरम्भ भएको भए तापनि यसको पूर्णता उहाँको दोस्रो आगमनमा हुनेछ। त्यसैले ख्रीष्टियन
नैतिकता "पहिले नै तर अझै होइन" भन्ने तनावमा बाँचिन्छ (तित. २:११–१४;
२ पत्रु. ३:१३–१४)। ख्रीष्टका अनुयायीहरूले एकातिर येशूमा प्राप्त मुक्ति
हेर्छन्, अर्कोतिर उहाँको पुनरागमनको आशामा पवित्रता र धर्मपरायणता
पछ्याउँछन्।